Saturday, October 23, 2010

करिश्मा मानन्धर - नायिका


नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर सन् १९७२ फेबु्रअरी ४ का दिन झरुवारासी, ललितपुरमा जन्मिएकी हुन्। आमा कोमल तथा सेनाका मेजर बुवा क्षेत्रबहादुर केसीका २ छोरीमध्ये जेठी करिश्माकी ठूलीमुमा -अर्की आमा) तर्फ २ दाजु छन्। जन्म ललितपुरमा भए पनि बानेश्वर, थापागाउँमा उनको बाल्यकाल बित्यो। इलाम आर्मी क्याम्पका गणपति बुवाको नवमीका दिन निधन भए पनि उनलाई आमाले त्यसपछिका हरेक दसैंमा रिक्तता र निराशाको अनुभूति नदिएको उनको भनाइ छ। करिश्मा भन्छिन्-ँनवमीका दिन अहिले पनि मेरो माइतीमा श्राद्ध हुन्छ तर मलाई मेरी आमाले कहिल्यै नरमाइलो महसुस गराउनुभएन, उहाँ हरेक पर्वमा समान खुुसी दिने प्रयास गर्नुहुन्छ। बाल्यकालमा रमाइला दसैं मनाएकी करिश्मा सन् १९९१ मा विनोद मानन्धरसँग विवाह गरेपछि पर्व मनाउने तरिकामा केही फरकपन महसुस गरेको बताउँछिन्। राजविराज निवासी विनोदकी आमा वीरगञ्जकी भएकीले पनि उनीहरूको चाडपर्वमा मधेसी संस्कारको झलक आउँछ। उनीहरू सबै संस्कारलाई पछ्याउँदै मिश्रति रूपमा दसैं मनाउँछन्। सकारात्मक सोच राख्ने हो भने जीवन इन्दे्रणीझैं रंगीन छ भन्ने करिश्मा आफ्नो परिवार स्वादको पारखी भएकाले आफू पनि खाने कुरामा सम्झौता नगर्ने बताउँछिन्।

केमा व्यस्त हुनुहुन्छ ?

अहिले व्यावसायिक जीवनबाट थोरै समयका लागि बाहिरिएर परिवारसँगै व्यस्त छु। जीवनको केही समय परिवारसँग बिताउनुको आनन्द लिइरहेकी छु।

तीज, दसैं, तिहारलगायतका ठूला चाडपर्वमा समयसँगै नयाँ चलनहरू भित्रिरहेका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?

म केही वर्ष विदेश बसें। त्यहाँको वातावरण बुझें, उनीहरूको आफ्नो भन्ने कुनै संस्कृति छैन। हामी संस्कारका धनी छौं। हाम्रा चाडपर्वमा जति आधुनिक कुरा थपिए पनि, पुराना जति पनि कुरा परिमार्जित भए पनि जेका लागि भनेर चाड मनाउने हो त्यो मेटिनु हुँदैन। त्यसको जरोलाई मर्न दिनु हँँदैन। किनभने हामी त्यही कुराले धनी छौं र त्यो हामी नेपालीको परिचय पनि हो।

अहिलेको दसैं कसरी मनाउँदै हुनुहुन्छ ?

यो वर्ष इंग्ल्यान्डबाट मुमा-बुवा -सासू-ससुरा) आउनुभएको थियो। उहाँहरू बस्नुहुन्छ र अघिपछिको दसैंभन्दा रमाइलो हुन्छ भन्ने ठूलो आशा थियो तर स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उहाँहरू र्फकनुपर्ने भयो। त्यसैले दसैं जसरी मनाउँदै आएकी थिएँ त्यसरी नै मनाउनुपर्ला।

किनमेल कहाँ गर्नुहुन्छ ? के-के खरिद गर्ने विचार छ ?

जहाँ पनि हुन सक्छ। म असाध्यै साधारण मान्छे हुँ। मलाइ सपिङ गर्न, खान, घुम्न यही निश्चित ठाउँ नै चाहिन्छ भन्ने छैन। म साधारण ठाउँमा पनि किनमेल गर्छु। स्टाफहरू र छोरीलाई नयाँ पहिरन किनिदिन्छु।

दसैंको महत्त्वपूर्ण पक्ष ?

सबै आफन्तलाई एकैठाउँमा जुटाइदिने दसैं महान् छ। आफन्तमा कुनै रिस, राग, द्वेष एवं चित्त दुखाइ छ भने पनि यो पर्वले मेटाइदिन्छ र राम्रो वातावरण सिर्जना गरिदिन्छ। त्यसैले यो पर्वमा कुनै शक्ति छ भन्ने मलाई लाग्छ। जुन शक्ति मेरा लागि सबैभन्दा महत्त्वपूर्ण छ।

दसैंमा सबैभन्दा मन पर्ने कुरा ?

पाहुना, इष्टमित्र तथा आफन्तहरूलाई ख्वाउन तथा कम्पनी दिन रुचाउँछु।

कुन ब्रान्डको डि्रंक्स रुचाउनुहुन्छ ?

आइ लभ टु डि्रंक बियर -तर बियरले मोटाइने हुँदा अहिले त्यति पि्रफर गर्दिन) डि्रंक्समा मेरो अर्को रुचि ब्रान्ड रेड वाइन -ड्राइ, नन-

स्विटन) हो।

चाडपर्वमा हरेक क्षेत्र केही समयका लागि सुस्ताउँछन्, के यसो हुनु ठीक हो ?

हामीले त्यो सुस्त गतिलाई तीव्र गतिको काम पछिको थकाइ मार्ने अवसरका रूपमा लिनुपर्छ। किनभने दसैंको ठीक अगाडि एकदमै स्पिडमा काम हुन्छ जुन समयमा भएको कामले वर्षभरिको कामलाई माथ गर्छ।

अब पनि दसैं जस्तो लामो अवधिको पर्व मनाइरहनु कत्तिको सान्दर्भिक छ ?

मलाई त राम्रो लाग्छ। यसको सान्दर्भिकता यसर्थमा पनि छ कि काम मात्र जीवन होइन। मान्छेलाई स्वस्फुर्त रूपमा काम गर्न तरोताजा दिमाग एवं आरामदायी शरीर चाहिन्छ। जुन कुरा सुखी, उमंग, हर्ष तथा आरामद्वारा मात्र सम्भव छ। दसैंको लामो बिदा र उल्लास सकिएपछि हामी अझ तरोताजा मस्तिष्कका साथ नयाँ सिर्जना गर्ने मुडमा काममा र्फकन्छौं।

बाल्यकालको चाडपर्वमा तपाईंको रोजाइ र अहिलेको चाडपर्वमा तपाईंकी छोरीको रोजाइमा के भिन्नता छ ?

धेरै भिन्नता छन्। म सामान्य परिवारकी, आमा मात्र भएकी घरकी छोरी थिएँ। केही अप्ठ्यारो स्थिति थियो तर माग भने गर्थें। कविता अहिले सम्पन्न परिवारकी छोरी हो भन्नुपर्छ तर उसको कुनै माग हुँदैन। म उसलाई चाडबाडमा कुर्ता-सलवार किनिदिन रुचाउँछु, ऊ जिन्स मन पराउँछे।

दसैंले नेपाली कला क्षेत्रमा कस्तो प्रभाव पार्दै आएको छ ?

चलचित्र चल्ने र रिलिज हुने कुरा गर्नु हुन्छ भने यो ज्यादै उपयुक्त अवसर हो। दसैंमा सबै मानिस काम सकेर थकाइ मार्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन्। दसैंमा उपत्यका बाहिरबाट चलचित्र रिलिज हुनु भनेको बेस्ट रिलिज हो। जसले चलचित्र क्षेत्रलाई अवश्य लाभ पुर्‍याउँछ।

विदेशमा मनाएको दसैं ?

एक-दुईपटकबाहेक दसैंमा कहिले विनोद उता, कहिले म यता हुन्थ्यौं। विदेशमा भए पनि हामी त्यहाँ जमरा उमार्ने, टीका थाप्ने, खसी काट्ने काम गथ्र्यौं। विदेशको दसैं अझ महत्वपूर्ण हुँदो रहेछ। बाल्टिमोरमा बस्दा हामी नेपालीहरू प्रेमराजा महत दाइकहाँ टीका थाप्न जान्थ्यौं। उहाँको घर त्यहाँ बस्ने हरेक नेपालीका लागि टीका थाप्ने बूढो घर हुन्थ्यो। रमाइलो हुन्थ्यो विदेशको दसैं पनि तर विनोद र म छुट्टएिको दसैं भने नरमाइलो भएको थियो।

सपनाको देश अमेरिकामा करिब स्थापित भैसकेपछि नेपाल फर्किनुको कारण ?

म अमेरिकन भएर त्यही बसोबास गर्छु भन्ने नियतले गएकी थिइन। फिल्म क्षेत्रमा मात्रै सीमित हुनुपर्दा म एकोहोरो जीवन बाँचिरहेकी थिएँ। त्यहाँ गएपछि थुप्रै कुरा सिक्न र अनुभव गर्न पाएँ। म आफ्नो देश छाडेर अन्त बस्न सक्ने मानिस होइन। म त्यहाँ केही सिक्न गएकी थिएँ, जुन सिकेर फर्किएँ।

अब फेरि चलचित्रमा र्फकने विचार छ वा अन्य कुनै व्यवसाय गर्ने ?

अहिले तुरुन्तै फिल्म बनाइहाल्छु वा चलचित्रमा काम गरिहाल्छु भन्न सक्ने स्थिति छैन। यद्यपि फिल्म र समाजसेवा नै मेरा लक्ष्य हुन्।

दसैंको के कुराले छुन्छ ?

मलाई दसैंताकाका घमाइला दिन र सफा मौसमसहितको हावाले छुन्छ। मलाई दसैंमा वातावरणको वासना मीठो लाग्छ।

दसैंमा लगाउने पहिरन ?

साडी नै मन पर्छ। त्यसैले म दसैंमा विशेष किसिमको साडी बनाउँछु।

दसैं तपाईंका लागि के हो ?

मेरा लागि दसैं मिक्स प्याकेज हो। रमाउने, खाने, मन परेको पहिरन लगाउने, मठ-मन्दिर जाने, आफन्तलाई ख्वाउने, जमघट गर्ने उपयुक्त अवसर हो मेरा लागि दसैं।

'चाडपर्व आउँछन्, रुवाएर जान्छन्'



राजु अधिकारी - त्यो बिहान, झापाको आकास सफा र चम्किलो थियो। सावित्रा निरौला, ७०, कौसीमा बसेर टोलाइरहेकी थिइन्। हातमा तातोपानीले भरिएको गिलास अँठ्याएकी थिइन्। अचानक सडकको कल्याङमल्याङले उनी झस्किन्। 'आत्था! खुइली पो हाल्यो त,' पोलेको जिब्रो नाकको टुप्पोतिर तन्काउँदै गिलास कौसीको छेउमा राखिन्। कम्पाउन्डबाहिर सडकमा उनका आँखा अडिए। एक हुल महिला हलक्क हुर्केका पाँहेला जमरा बोकेर बाटो हिँडिरहेका रहेछन्। 'ए, टिका भित्रेछ,' उनले मनमनै गुनिन्। उनको अनुहार अँध्यारो भएर आयो। जमरा जति टाढिँदै थिए, उनका आँखा उति रसाउँदै थिए।

जमरा छेकिए, आँसु खसे।

'जे छैन त्यसैको आस बढी हुने,' धोतीको फेरले आँसु पुछ्दै निरौलाले भनिन्, 'चाडबाडका बेला झन् बढी आसलाग्दो र'छ।'
परिवारको सम्झना उनका आँखाअगाडि तस्बिर बनेर नाचिरहेका छन्। ६० वर्ष भयो परिवारका सदस्यलाई यसरी नै सम्झेर बिताएको। पारिवारिक निकटता उनले पूरै गुमाएकी छन्।
भर्खरै ओझल परेको जमरा बोकेका महिलाको हुलले उनलाई धेरै कुरा सम्झायो। मिठोमसिनु खाने, वर्षौंदेखि फेर्न नपाएको एकसरो नयाँ लुगा लगाउने तिर्सनाका मुना उनको मनमा जागे।
यस्ता तिर्सनाका मुना वर्षेनी पलाउँछन् र मर्छन्।
सतासीधामको माइधारस्थित लक्ष्मीनारायण मन्दिरमा अढाइ दसकदेखि आश्रयरत निरौलालाई ती इच्छा पूरा गर्ने उपाय अहिलेसम्म सुझेको छैन।
कौसीबाटै उठेर उनले आफ्नो कुटीतिर नजर दौडाइन्। त्यहाँ दुई पाथी कनिका बाँकी थियो। आँसु तरक्क चुहियो। उनी थुचुक्क भुइँमा बसिन्।
'त्यही कनिकाले दसैं टारेँ,' उनले आँसु पुछिन्।
धोतीको फेर भिज्यो। आँखा दसैंको टिकाजस्तो रातो देखियो।
'म अभागिनीलाई कालले पनि लाँदो रहेनछ,' कोजाग्रत पूर्णिमाको अघिल्लो दिन कुटीको त्यही कौसीमा टोलाइरहेकी उनी एक्लै बर्बराइन्, 'परिवारसँग बस्न, मिठो खान र राम्रो लाउन भाग्य नै चाहिने रहेछ।'
आमनेपालीमा खुसीको बहार ल्याउने चाडपर्व निरौलाका लागि मुटु चहर्‍याउने घाउ बन्ने गर्छन्। अरू पिँढी र आँगनमा निस्केर हाँस्दा उनी कुना पसी आँसु पुछिरहेकी हुन्छिन्। अरूलाई उनी सकभर रमाइलो गर्न आग्रह गर्छिन्, तर त्यही रमाइलो उनी हेर्न सक्दिनन्।
इर्ष्याले होइन, डाहले पनि होइन। परिवारको सम्झनाले।
'चाडपर्वका बेला अरूले रमाइलो गरेको देखिन्छ, तर मैले सधैं रुनुपर्छ,' पीडाको पन्तुरो फुकाउँदै उनी भक्कानिइन्, 'चाडपर्व जति आउँछन्, मलाई रुवाएरमात्रै जान्छन्।'
...


'म सधैं हाँसिरहन्छु,' ९ वर्षको हुँदा निरौला भन्थिन् रे, 'कहिल्यै रून्नँ।'
विसं २००६ साल। इलाम मंगलबारे, निरौलाको घर। घरमा दाजुभाइ र दिदीबहिनीसँग ९ वर्षकी उनी रमाएर खेल्थिन्। घरमा धन्दापातदेखि घाँसदाउरासम्मको काममा सघाउन थालिसकेकी थिइन्, आमालाई।
'त्यो मंसिरको कुनै एक बिहान हुनुपर्छ,' उनले ६१ वर्षअगाडिको सम्झना गरिन्। आँगनमा काका र अरू आफन्त गफ गरिरहेका थिए। उनले कान त्यतैतिर लगिन्। थाहा पाइन्, त्यहाँ 'कन्यादान' को कुरा चलिरहेको थियो।
'समयमै छोरीको कन्यादान नगरे कसरी वैकुण्ठबास पाइन्छ,' उनका अभिभावक जिद्दी गर्दै थिए। अन्ततः उनको कन्यादानको निष्कर्ष निक्लियो।
र, केही दिनमै उनलाई कुटुम्बको जिम्मा लगाइयो।
'बल्ल थाहा पाएँ मेरो त बिहे पो भको रैछ,' ६ दसकअघिको घटना सावित्राले सम्भि्कइन्, 'तर, कोसँग भयो, अब मैले के गर्नुपर्छ, केही था थिएन।'
बेहुली बनेर पतिको घर भित्रिएको दस दिनपछि उनी माइत फर्किइन्। बिहे भए पनि उमेर बढेपछि मात्र घर पठाउने त्यसबेलाको चलन थियो। त्यसपछि दुलही बनेर भित्रिएको घरमा उनी कहिल्यै जान पाइनन्।
किन त?
'बिहेको वर्षदिन नबित्दै उहाँको (पति) निधन भयो,' उनी फेरि सुकसुकाइन्।
पतिको निधनसँगै उनको गलाको पोते खोसियो। सिउँदोको सिन्दुर पुछियो। अभिभावक र छिमेकीबाट नयाँ परिचय पाइन् - 'विधवा'।
'त्यसयता चाडपर्वमा रमाएको थाहा छैन,' दस वर्षको बाल्यावस्थामै विधवा बनेकी निरौलाले सुनाइन्, 'त्यही भएर चाड पर्व आ'को, ग'को थाहै हुन्न।'
पतिको मुखाकृति त के, नामठेगानासम्म भेउ नपाउँदै एक्ली बनेकी उनले केही समय माइतीमै बिताइन्। जीवन समाप्तिको मूल्यमा आफ्नो जीवनका सारा समय निरश बिताएकी निरौलाको साथ विस्तारै उनैका आमा बुबाले पनि छाडे। उनको जीवनमा कष्ट थपिँदै गयो।
माइती पनि उनको आफ्नो रहेन।
'मातापिता बितेपछि मलाई साहरा दिने कोही भएन,' नेपाल र भारतका विभिन्न आश्रमहरूमा शरण लिएको बताउने निरौलाले भनिन्, 'त्यसपछि कुटीको बास भो।'
झन्डै २५ वर्षअघि भारतबाट नेपाल फर्किएपछि उनले माइधारको लक्ष्मीनारायण मन्दिरमा आश्रम रहेको थाहा पाइन्।
र, यहाँ आइपुगिन्।
'म आउँदा अरू थुप्रै थिए,' अहिले पनि १९ जना आफूजस्तै परिवारबाट एक्लिएका महिला रहेको बताउँदै निरौलाले चित्त बुझाउने बाटो खोजिन्।
'सबैको दुःख मेरैजस्तो रैछ। कोहीकोही त छोराछोरी भएर पनि बसिरहेका छन्। उनीहरूलाई देख्दा चाहिँ कोही नभएको मैले दुःख पाउनु नौलो होइन भन्ने लाग्छ।'


सबैको पीडा उस्तै

सन्तान हुनेहरूको पीडा पनि निरौलाको भन्दा फरक छैन।
सन्तानले नहेरेपछि निरौलासँगै आश्रममा बसिरहेकी छन्, इलाम लामीडाँडाकी खगिन्द्रा बुढाथोकी। उनी दुई छोराकी आमा हुन्।
'दसैं तिहार र अरू चाडबाडका बेला छोराहरूको साह्रै याद आउँछ,' सन्तान भएर पनि बेसहारा बनेकी उनले भनिन्, 'तर, छोरो ढुंगाको मन भको रैछ।'
उमेर ढल्किँदै गएपछि शरीर गल्दै जान्छ रे। त्यसैले होला, सानोतिनो बिमारले पनि कहिलेकाहीँ धेरै सताउँछ। त्यतिबेला उनलाई लाग्छ, 'यतिखेर छोरो आइपुगिदिए हुन्थ्यो नि!'
प्वाँख झरेको पंक्षीजस्तो बुढाथोकीको इच्छा मनमै कुँजिएको धेरै भयो। छोरा फर्किने कुनै छाँट छैन। ६४ वर्षीया बुढाथोकीलाई आफ्नो बिहे भएको तिथिमिति राम्ररी हेक्का पनि छैन। कुन उमेरमा आफ्नो कन्यादान भयो, उनी बताउन सक्दिनन्। उनलाई यत्ति थाहा छ, '२०२१ सालमा पतिको देहान्त भयो।'
त्यसपछि त भर्खरै हुँर्कदै गरेका दुई छोराको सम्पूर्ण दायित्व उनीमाथि आइलाग्यो। उनीहरूकै अनुहार हेरेर भविष्यको आसमा दुःखजिलो गरेर गाउँमा बसिन्। तर, पति वियोगको केही वर्ष नबित्दै उनको एउटा छोरो बेपत्ता भयो, जसको अवस्था अहिलेसम्म उनलाई अत्तोपत्तो छैन।
'एउटा छोरा घरबाट हिँडेदेखि बेपत्ता छ,' उनले भनिन्, 'अर्को घरजम गरेर धरानमा बसेको छ। तर, मलाई हेर्दैन।'


थाहै नपाई विधवा
२०२८ सालमा बनेको लक्ष्मीनारायण मन्दिरमा आश्रय लिएर बस्ने डेढ दर्जन वृद्धाहरूको जीवन कथा लगभग उस्तै छ। अनौठो संयोग - उनीहरूमध्ये अधिकांश बाल विधवा छन्। उनीहरूलाई बिहे भएको त कुरै छाडौं, विधवा बनेकोसमेत राम्ररी थाहा छैन।
'सात वर्षमा बिहे भको रे,' भुटानबाट आएकी ईश्वरी न्यौपाने, ८०, ले आफ्नो कथा सुनाइन्, 'दुई-तीन वर्ष नबित्दै विधवा भइस् भने, त्यहाँदेखि यत्तिकै बसेकी छु।'
विडम्बना कस्तो छ भने, जसको निधनले उनीहरूलाई विधवाको पीडादायी परिचय दियो, ती मान्छेबारे उनीहरूलाई नै राम्रो सम्झना छैन। अभिभावकले विधवा भइस् भने, उनीहरूले सहजै स्वीकारे।
नातिनातिना खेलाउँदै आफ्ना सन्तानसँग आनन्दको दिन बिताउने उमेरमा कष्टदायी दिन गुजार्न बाध्य बनेका अधिकांश वृद्धाहरूलाई आफ्नो पतिको नामसमेत थाहा छैन। मन्दिरले दिने खाद्य सामग्री र बेलाबेला 'धर्म कमाउन' मन्दिर आइपुग्ने मनकारीहरूले दिने लत्ताकपडाको भरमा उनीहरूको धेरै दसक बितिसकेको छ। सामान्य औषधिउपचार मन्दिरले गरिदिन्छ। दीर्घरोगबाट पीडित वृद्धाहरूको दैनिकी भने ऐयाआत्थामै बित्ने गर्छ।
'खुट्टो दुखेर उभिनुहुँदैन,' लक्ष्मीनारायण मन्दिरमा सबभन्दा पहिले आएर बसेकी झापा चारपानेकी जमुनादेवी गौतम भन्छिन्, 'राम्रो ठाउँमा उपचार गरे ठिक हुन्थ्यो होला, कसरी गर्नु?'
मन्दिर परिसरमा रहेका कुटीमा बस्ने यी महिलाको दिन बती कातेर र मन्दिरमा भजनकीर्तन गरेर बित्छ। कुनै अवसरमा धार्मिक महोत्सव हँुदा भक्तजनले दिने विभिन्न सामग्रीले उनीहरूको आवश्यकता टर्ने गरेको छ।
मन्दिरका महन्त केशव आचार्यका अनुसार कुल सात विगाहा जग्गामध्ये मन्दिरको ४ विगाहामा खेती गरिन्छ। अँधियारले उत्पादनको आधा भाग लगेपछि बाँकी रहेको आधाले मन्दिर र आश्रयरत वृद्धाहरूको जीवन चलाउनुपर्छ।
यहाँ बसेका सबै महिला क्षेत्री र बाहुन समुदायका छन्। बेसाहाराहरू जोसुकैले यहाँ सहजै आश्रय पाउँछन्। जातका आधारमा विभेद छैन। 'आपसमा मिलेरै बसिएको छ,' २० वर्षदेखि मन्दिरमा बसिरहेकी जमुनादेवी भट्टराई भन्छिन्, 'त्यस्तो छोइछिटो छैन।'