Tuesday, April 6, 2010

मनीषाको बिहे नेपाली व्यापारीसित

काठमाडौं, २४ चैत

हिन्दी सिनेमाकी नेपाली अभिनेत्री मनीषा कोइरालाले आफूभन्दा सात वर्ष कान्छो युवालाई श्रीमान् बनाउने भएकी छिन् ।

४० टेकेकी मनीषाले ३३ वर्षीय सम्राट दाहालसँग आगामी ५ असारमा बिहे गर्दै छिन् ।

स्थानीय विकास मन्त्रालयले खोलेको ठेक्काको विषयमा पत्रकारहरूसँग केही दिनअगाडि कुरा गर्दै सम्राट आफैंले भनेका थिए, 'म त भर्खर ३३ वर्षको भएँ ।' उता उनकी जोडी मनीषाले पनि आफू ४० वर्ष भएको बताइसकेकी छिन् ।


मेघा उलको विज्ञापन र फेरि भेटौँला चलचित्रबाट रजटपटमा उदाएकी मनीषा निर्देशक सुभास घइको भव्य 'प्रोजेक्ट' सौदागरबाट बलिउडमा पाइला टेकेकी हुन् । उनी बम्बे, दिल से, १९४२ अ लभ स्टोरी, खामोसीजस्ता सफल सिनेमाकी पनि नायिका हुन् । उनी आफैँले लगानी गरेको सिनेमा पैसा वसुल भने फ्लप भएको थियो ।

मनीषाका भावी पति सम्राट नेपाली जुत्ताउद्यमी सुरेन्द्र दाहालका कान्छा छोरा हुन् । बाँसबारी छाला जुत्ता कारखानाका पूर्वकर्मचारी तथा लेदरविङ्सका मालिक सुरेन्द्रले भारतको कानपुर, नयाँ दिल्ली, आगरा र चेन्नइमा समेत जुत्तापसल खोलेका छन् । तर, अमेरिकामा पढेका छोरा सम्राटको भने आफ्नै व्यवसाय छ । उनी ऊर्जा कम्पनी इकोफिन एशियाका अध्यक्ष र फिनल्यान्डस्थित इकोफिन नर्डिकका निर्देशक हुन् ।

ऊर्जाविद् सम्राटले काठमाडौंका फोहोर व्यवस्थापनमा पनि चासो लिएका छन् । स्थानीय विकास मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि खोलेको ठेक्कामा सम्राट कन्सल्टेन्ट रहेको गोल्डरश कम्पनीले प्रतिस्पर्धा गरेको थियो । तर, ठेक्का नपाएपछि सम्राट नेपालको राजनीति तथा कर्मचारीतन्त्रप्रति निराश थिए ।

व्यावसायिक रूपमा निराश भए पनि व्यक्तिगत जीवनमा भने उनले मनीषाजस्ती चर्चित व्यक्तित्वलाई श्रीमतीका रूपमा पाउँदै छन् । बलिउडमा रहँदा नायकहरू नागार्जुना र नाना पाटेकरसँगको मनीषाको घनिष्ठ सम्बन्ध थियो । 'हो, नानासँग म डेटिङ पनि गएकी छु,' उनले केही साताअघि नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामै पनि भनेकी थिइन् ।

त्यस्तो त नेपालका लागि अष्टे्रलियाका तत्कालीन राजदूत क्रिस्पिन कोनरोयसँग पनि मनीषाले सन् २००१ मा 'इन्गेजमेन्ट' गरेको चर्चा आएको थियो । तर, बिहे भएन, पछि मनीषाले भनेकी थिइन्, 'मेरो बिहे गर्ने उमेरै भएको छैन ।' त्यसो त अघिल्लो वर्ष मनीषाको नाम अमेरिकी लेखक तथा मनोविज्ञानविद् क्रिस्टोफर डोरीसँग पनि जोडिएको थियो । तर, सबै विदेशी उम्मेदवारका लागि ढोका बन्द गरेर मनीषाले नेपाली युवक छानेकी छन् ।

मनीषा तेलगु सिनेमाको सुटिङ गर्न अहिले दक्षिण भारतमा छिन् भने बिहेको खबर सार्वजनिक भएपछि सम्राटले फोन उठाउन छाडेका छन् । तैपनि उनका पिता सुरेन्द्रले भारतीय दैनिक टाइम्स अफ इण्डियालाई समेत प्रतिक्रिया दिएर बिहे हुन लागेको पुष्टि गरेका छन् । 'हो, १९ जुन (५ असार) का लागि बिहे निश्चित गरियो,' सुरेन्द्रले भनेका छन्, 'बिहेपछि जोडी काठमाडौं, मुम्बई अथवा न्युयोर्क जहाँ पनि बस्न सक्छ, यो उनीहरूको रोजाइको कुरा हो ।'
सुरेन्द्रका कान्छा छोरा सम्राट एनसीसी बैंकका पनि अधिकृत हुन् । उनका जेठा दाइ सुरज काठमाडौं एकेडेमीका सञ्चालक हुन् । जेठी दिदी शुभश्री अमेरिकामा पीएच्डी गर्दै छिन् । सम्राटले अमेरिका पढे पनि नेपालमा बायोग्यास प्लान्ट स्थापना गर्ने उद्देश्य पनि राखेका छन् ।


यता 'फेरि भेटौँला' भन्दै बलिउडतिर लागेकी नायिका मनीषा पनि चलचित्र 'धर्म'बाट नेपाली सिनेमामा फर्किएकी छन् । दीपेन्द्र खनालको निर्देशनमा बन्दै गरेको धर्ममा मनीषाले राजेश हमालसँग अभियन गरेकी छन् । चलचित्रको डबिङका लागि उनी शुक्रबार काठमाडौं र्फकने कार्यक्रम छ ।

मनीषा र सम्राटको पारिवारिक स्रोतका अनुसार बिहेमा पूर्वराजा ज्ञानेन्द्र पनि उपस्थित हुने कार्यक्रम छ । चार वर्षअघि मनीषाका भाइ सिद्धार्थले कजाक युलिया वेकिटोभासँग बिहे गर्दा पनि तत्कालीन राजा ज्ञानेन्द्र रानी कोमलसँग होटल सोल्टीको भोजमा सहभागी भएका थिए । शाहीकालमा मनीषाका पिता प्रकाश मन्त्री भएका थिए भने मनीषाले पनि राजतन्त्रको वकालत गरेकी थिइन् । उनी अहिले पनि नेपाललाई हिन्दूराज्य बनाउनुपर्ने मान्यता सार्वजनिक गर्दै आएकी छन् ।

चिन्तित छन् सम्राट

मनिषा कोइरालासँग बिहे गर्ने निर्णय गरेका युवाउद्यमी सम्राट दाहाल नेपाली राजनीति र कर्मचारीतन्त्रमा इमान नभएको भन्दै निराश छन् । उनी कन्सल्टेन्ट रहेको गोल्डरश कम्पनीलाई स्थानीय विकास मन्त्रालयले ठेक्का नदिएपछि उनी आक्रोशित पनि छन् ।

स्थानीय विकास मन्त्रालयले काठमाडौंको फोहोर निजी तथा सार्वजनिक साझेदारी अवधारणाअन्तर्गत व्यवस्थापन गर्न ठेक्का दिने उद्देश्यले चार महिनाअघि विभिन्न कम्पनीसँग मनसायपत्र माग गरेको थियो । जसमा गोल्डरशले पनि मनासायपत्र पेस गरेको थियो । तर, विना गम्भीर जाँचबुझ आफ्नो कम्पनीलाई मन्त्रालयले प्रतिस्पर्धाबाट हटाएको उनको भनाइ छ । 'नेपालमै रहेर काम गर्ने चाहना थियो, तर खै, काम गर्ने वातावरण नै पाइएन,' मन्त्रालयले आफ्नो कम्पनीको प्रस्ताव अस्वीकृत गरिदिएपछि केही दिनअघि उनले निराश हुँदै भनेका थिए ।

गोल्डरशकी सञ्चालिका पूजा चन्द भन्छिन्, 'हामीसँग प्राविधिक क्षमता अरू कम्पनीसँग भन्दा बढी थियो, तर हामीलाई किन हटाइयो बुझ्न सकेका छैनौँ ।' आवेदन आएका १८ वटा कम्पनीमध्ये १२ वटाको मनसायपत्र मन्त्रालयले छनौट गरेको छ । जुनमध्ये अधिकांश भारतीय कम्पनी छन् ।

केही दिनअघि नयाँ पत्रिकासितको भेटमा सम्राट दुःखी देखिन्थे । आफूसँग भएको योग्यता र क्षमताको सही सदुपयोग आफ्नै मुलुकमा रहेर गर्न नपाएको भन्दै उनले दुखमनाउ गरेका थिए । 'काठमाडौंको फोहोर व्यवस्थापन गर्न मलाई थोरै पनि जमीन चाहिँदैन, सरकारले अवसर दिए फोहोरमैलाबाट वैकल्पिक ऊर्जा निकालेर देखाइदिन्छु,' उनको भनाइ थियो । तर, स्थानीय विकास मन्त्रालयले उनी कन्सल्ट्यान्ट रहेको कम्पनीलाई पूरै बेवास्ता गरेको भन्दै उनले गुनासो गरेका थिए ।

उनी फिनल्याण्डको भ्यापर र ज्याकोवजस्ता प्राविधिक र आर्थिक हिसाबले संसारभरि ख्यातिप्राप्त कम्पनीसँग आबद्ध छन् । ठेक्काको विषयमा पत्रकारहरूसँग कुरा गरेका सम्राट मंगलबार बिहेको विषयमा भने कुरा गर्न खोज्दा सम्पर्कमै आउन चाहेनन् ।

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete