Tuesday, April 6, 2010

'ए, म त मरेछु'


उनी अस्पतालको गेटसम्म पुगेका थिए ट्रकका साहुजी राजेन्द्र महर्जन देखा परे। साहुजीको मुख खुलेको खुल्यै भयो। केही बेरपछि साहुजी बोले- तिमी त मर्‍यौ पो भन्ठानेको


बीसवर्षे जवान। घर धादिङ भुमेस्थान-१। पेसाले ट्रकको खलासी। बसाइको ठेगान छैन। जहाँ ट्रक जान्छ त्यहीँ बास। सुत्ने-उठ्ने सबै ट्रकभित्र। काम तराईबाट चौपाया काठमाडौं ओसार्ने - काठमाडौंबासीको स्वादिष्ट मःम। कामका हिसाबले शिव विडारी घरमूली थिए, तर सबैभन्दा कान्छा सदस्य। पढाइ तीन कक्षा उत्तीर्ण। घरमा सबैभन्दा शिक्षित उनै हुन्। 'काम नगरी खान पाइँदैनथ्यो, पढ्न गए कसले कमाएर खान दिने?' उनले भने।

राजनीति उनले बुझेका थिएनन्। बुझ्ने अवसर पनि पाएनन्। सानै उमेरमा काममा लागेका उनलाई राजनीति बुझ्ने रहर थियो। जुर्‍यो समय - २०६२/०६३ को जनआन्दोलन। फुर्सद मिलाइदिए राजनीतिक दलले तीनदिने आमहडताल घोषणा गरेर। हडतालको अघिल्लो (चैत २३) दिन उनको ट्रक थानकोट आएर रोकियो।

चैत २४ बाट आन्दोलन सुरु भयो। आन्दोलनमा जाने कि नजाने, उनी दुविधामा थिए। उनले निर्णय लिन सकेनन्। 'देशका लागि लड्नुपर्छ, आन्दोलनमा अगाडिचाहिँ नबस्नू,' धादिङमा रहेका बुबा-आमाले सल्लाह दिए। उनलाई पनि लाग्यो, 'देशलाई एउटा निकास दिनुपर्छ, दुःखी गरिब जनताका दिन फिर्नुपर्छ।'

सुझाव संकलनमा उनले दुई दिन खर्चिए। दुई दिनमा उनले राजनीति, आन्दोलन र यसको प्रकृति सबै बुझे। अब उनको एउटै काम रह्यो - आन्दोलनमा सहभागी हुने। उनले थपे, 'आन्दोलनमा मानिस दिनदिनै बढ्दै थिए, त्यसै बढेका त होइनन्। पक्कै पनि जनताकै हितको लागि हुनुपर्छ।'

चैत २६ गते ट्रकबाट उठी चिया खाएर बिहान ९ बजेतिर थानकोट, खरिबोटबाट उनी सानो भीडमा मिसिएर कलंकी लागे। उनका गुरुजी पनि सँगै थिए। बाटो सुनसानजस्तै थियो। तर कलंकीमा आन्दोलनकारी भेला भैसकेको उनले टाढैबाट थाहा पाए। झन्डै एक घन्टाको पैदलपछि उनी कलंकी पुगे।

'सशस्त्र प्रहरी कलंकी चोकको बीचमा बाटो छेकेर बसेका थिए, ट्यांक कलंकी चोकको दुवैतिर थिए,' शिव तीन वर्ष अगाडिको दृश्य सम्झन्छन्, 'कसैलाई पनि कलंकी चोक पार गर्न दिएनन्। हामीले यतै बसेर नाराबाजी गर्‍यौं।' गन्तव्य रत्नपार्क बनाएर हिँडेका उनी कलंकीमै रोकिए। चोकमा प्रहरी र आन्दोलनकारीबीच ठेलमठेल भयो। प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे पर्‍यो। प्रहरीले लाठी र अश्रु ग्यास एकसाथ हान्न थाले। भीड केही पछाडि हट्यो। लाठी र अश्रु ग्यासको बदलामा आन्दोलनकारीले प्रहरीमाथि ढुंगा बर्साए।

'कहिले हामी खेदाउँथ्यौं कहिले प्रहरी। प्रहरीले ढुंगे अड्डा ओरालोसम्म खेदाउँथ्यो, हामीले फेरि चोकसम्म,' उनले भने, 'त्यसपछि त प्रहरी देख्नेबित्तिकै रिस उठ्न थाल्यो।'

कलंकीलाई आन्दोलनकारीले प्रायः तीनतिरबाट घेरेका हुन्थे। नैकाप, थानकोटबाट आएको भीडले थानकोटतिर जाने बाटोबाट, ट्याङ्लाफाँट, कीर्तिपुरबाट आउने भीडले खसीबजारबाट र स्युचाटारबाट आउने भीडले स्वयम्भुतिर जाने बाटोबाट। प्रहरीको कुटाइबाट आन्दोलनकारी थुप्रै घाइते हुन्थे। घाइतेलाई उठाएर आन्दोलनकारीले नै एम्बुलेन्समा राख्थे। उनी सहभागी भएको पहिलो दिन कलंकीमा कसैको पनि मृत्यु भएन। साँझ ७ बजे उनी कलंकीबाट थानकोट फर्किए। बिहान चिया खाएर गएदेखि उनको मुखमा केही परेको थिएन। पसलहरू बन्द भैसकेका थिए। त्यो रात उनी भोकै ट्रकमा सुते।

चैत २७ गते उनी त्रिपुरेश्वरसम्म पुगे। राजदरबारबाहिर नारा लगाउने उनको धोकोमा बाधक बने प्रहरी। उनी भन्दै थिए, 'कलंकीमा नारा लगाउनु र राजदरबारअगाडि नारा लगाउनुमा फरक हुन्थ्यो नि!' उनलाई कलंकीमा प्रहरीले छेक्ने प्रयास गरेका थिए। त्यो दिन भीडले प्रहरीलाई पेलेरै अगाडि बढ्यो। धेरै प्रहरी घाइते भए। हजारौंको भीड कलंकीमा जम्मा भएको थियो। कोही बल्खुतिरबाट त कोही स्वयम्भु जाने बाटो हुँदै त्रिपुरेश्वर पुगेका थिए।

'तीन घन्टा प्रहरीसँग झडप गरेपछि बल्ल कलंकीबाट भित्र छिर्न सकियो,' शिव भन्छन्, 'कालीमाटीमा पनि प्रहरी थिए, त्यहाँ पनि प्रहरीसँग डेढ घन्टा भिडेर त्रिपुरेश्वरसम्म पुगेका थियौं।'

त्रिपुरेश्वरमा ठूलो संख्यामा सेना-प्रहरी तैनाथ थिए। आन्दोलनकारीले घेरा तोड्न सकेनन्। प्रहरी माइकिङ गर्दै भाग्नका लागि आह्वान गर्थ्यो तर आन्दोलनकारी डेग चल्दैनथे। यस दिन सवा नौ बजे मात्र शिव थानकोटस्थित आफ्नो निवास पुगे - ट्रक। उनलाई थकाइ महसुस हुन्थेन। उनलाई लाग्थ्यो, 'देशका लागि केही गर्नु छ।'

आन्दोलनमा दिनभर खान पाइँदैनथ्यो। कतैकतै गाग्रीमा पानी राखिएको हुन्थ्यो। हजारौंको भीडमा त्यो हात्तीको मुखमा जिराजस्तै हुन्थ्यो। न खानु न पिउनु, दिनभर कुद्या छ, कुद्या छ। उनले थपे, 'आन्दोलनमा त्यत्रो दिन सहभागी हुँदा पाँच दिनमात्र खाना खाएर सुतियो होला, अरू दिन भोकै।' खाना पनि छैन खाजा पनि छैन!

दैनिकी उस्तै थियो। ट्रकबाट उठेर चिया खायो, आन्दोलनमा होमियो। चैत २८ गते कलंकीमा जनपद, सशस्त्र र सेना तीनैथरी सुरक्षाकर्मी तैनाथ थिए। अगाडि जनपद, बीचमा सशस्त्र र पछाडि सेना। आन्दोलन खासै जम्न सकेको थिएन। प्रहरीले कलंकीबाट छिर्न दिएन। दिनभर ठूलो झडप भइरह्यो। प्रहरी र आन्दोलनकारीबीच ठेलाठेल। प्रहरीले लाठी र अश्रु ग्यास हान्ने, आन्दोलनकारीले दुंगामुढा गर्ने प्रक्रिया चलिरह्यो। कति आन्दोलनकारीको टाउको फुट्यो, कतिका हातखट्टा भाँचिए, लेखाजोखा थिएन।

'ज्यानको माया नै थिएन,' शिव भन्छन्, 'मरे पनि देशकै लागि मर्ने हो, बाँचे पनि देशकै लागि भन्ने मनमा थियो।' ढुंगा हान्दाहान्दा पाता गल्थे तर उनलाई दुखाइ के हो, पत्तो थिएन। घरका छतछतमा गएर प्रहरीमाथि ढुंगा बर्साए। कतिपटक त प्रहरीले हानेको अश्रु ग्यास टिपेर प्रहरीतर्फ नै फ्याँक्न भ्याउँथे। साँझ पर्‍थ्यो, अनि फेरि थानकोट।

चैत २९ गतेबाट आन्दोलन चर्कियो। आन्दोलनकारी ह्वात्तै बढे, घाइतेको संख्या पनि बढ्यो। नयाँ वर्ष आएको ख्याल थिएन। दिमागमा एउटै कुरा थियो - आन्दोलन। उनले भने, 'देशमा राम्रै भएको भए हामी दुःखी/गरिब भएर बस्नुपर्दैनथ्यो, ठूलै काम गरिन्थ्यो होला, गरिबहरू हेपिएर बस्नुपर्ने, यही आन्दोलनले यो सबबाट मुक्ति दिन्छ भन्ने लागेको थियो।'
आन्दोलन यसरी नै चलिरह्यो। प्रहरीको बर्बरता बढ्न थाल्यो। आन्दोलनकारी झन् आक्रामक भए। बैशाख ३ गते कलंकीमा गोली चल्यो। आन्दोलनकारी मारिए। आन्दोलनले झन् उग्र रूप लियो।

वैशाख ६। यो दिन शिव कहिल्यै बिर्सन सक्दैनन्। बिहान ४ बजे बाहिर होहल्ला सुनियो। उनले ट्रकबाट उठेर हेरे - झन्डै ६ हजार मानिस नारा लगाउँदै आउँदै थिए। उनले बुझे - उनीहरू आन्दोलन सफल बनाउन धादिङबाट आएका रहेछन्। उनी त्यही भीडमा मिसिए। ६ बजेतिर भीड कलंकी पुग्यो। कलंकी चोकमा तीन तहमा सुरक्षाकर्मी तैनाथ थिए। कलंकी पुग्दा भीडमा हजारौं संलग्न भइसकेका थिए।

तैनाथ जनपद र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले लछारेर अगाडि बढ्यो। उनी आन्दोलनकारीको अग्रपंक्तिमा उभिएका थिए। आन्दोलनकारीको अघिल्लो लाइन रविभवन पुग्न लागेको थियो भने अन्तिम लाइन तीनथाना चोक। कोही स्युचाटार जाने चोकतिरबाट अगाडि बढेका थिए, कोही बल्खु जाने बाटोबाट। कलंकीमा सुरक्षा निकायको केही लागेन।

जनपद, सशस्त्र र सेनालाई ठेल्दै आन्दोलनकारीले रविभवन पुर्‍याए। भीड सुरक्षाकर्मीलाई धकेल्दै अघि बढ्ने प्रयास गरिरहेको थियो। त्यति नै बेला आकाशमा हेलिकप्टर देखियो। हेलिकप्टर निकै तल उडिरहेको थियो। सुरक्षाकर्मीले भीडलाई रोक्न सक्ने अवस्था रहेन। हेलिकप्टर केही पर पुग्नेबित्तिकै भिडमाथि लाठी बर्सन थाल्यो। टाउकोमा लाठी बर्संदा पनि आन्दोलनकारी भागेनन्। शिवको टाउकोबाट रगतको मूल फुट्यो तर उनी कत्ति पनि विचलित भएनन्। अन्य आन्दोलनकारीको अवस्था पनि यस्तै। सुरक्षाकर्मीलाई ठेल्दै भीड अगाडि बढ्दै थियो, साढे एक बजेतिर गोली चल्यो। आन्दोलनकारीको भागदौड चल्यो। भाग्दा कति भुइँमा पछारिए, कति तिनैमाथि टेकेर भाग्ने प्रयास गर्दै थिए।
भीड रविभवनबाट कलंकी मन्दिरयता आइपुगेको थियो। आडैमा रहेको घरको छतबाट तीन जनाले यो दृश्य हेरिरहेका थिए - दुई जना वयस्क र एक बालक। वयस्क दुईजना एकछिनमा कोठाभित्र छिरे, तर बालक भने भागदौड हेरिरहेका थिए। शिव त्यो दृश्य सम्झन्छन्, 'एक जना सुरक्षाकर्मीले बच्चालाई ताकेर गोली चलाए, बच्चा चार तलाबाट एकैपटक सडकमा बजारिए। बालकको त्यहीँ मृत्यु भयो।'

यो दृश्यले आन्दोलनकारी झन् आक्रोशित भए। झन् ठेलमठेल भयो। आन्दोलनकारी सुरक्षाकर्मीलाई ठेलिरहेका थिए, सुरक्षाकर्मीले लाठी बर्साइरहे। शिवको शरीरमा लाठीले नलागेको कुनै ठाउँ रहेन। 'प्रहरीको कुटाइबाट टाउकोमा १७ टाका र आँखामाथि तीन टाका लाउनुपर्‍यो,' कपाल हटाएर टाउको देखाउँदैछन् उनी। सुरक्षाकर्मीले फेरि गोली बर्साए। त्यहीँ १९ जना गोली लागेर ढले। उठाउने कोही छैन। सबै भागाभाग। शिव स्यान्डो लगाएर भाग्दै स्युचाटार जाने चोकमा पुगेका थिए, कसैले उनलाई कम्मरको दाहिने भागमा जोडले ढुंगाले हानेजस्तो लाग्यो। उनी भुइँमा पछारिए। उठ्ने प्रयत्न सफल भएन। उनी भुइँमा लडिबुडी गरिरहे। उनी रक्ताम्य थिए, उठाउने कोही थिएन। कति उनलाई कुल्चँदै भाग्दै थिए। 'एक्कासि के भयो यस्तो,' उनलाई लाग्यो पनि। उनले सोचे, 'टाउकोबाट बढी रगत बगेर रिंगटा लाग्यो।' उनको दृष्टिशक्ति क्षीण हुँदै थियो।

एक्कासि चार-पाँच जना आएर उनलाई उठाए। उनलाई सबै थाहा छ तर बोल्न सकिरहेका छैनन्। नजिकै रहेको अस्पताल जस्तो ठाउँमा उनलाई पुर्‍याइयो। सेतो कपडा लगाएकी एकजना महिला आइन्, र भनिन्, 'यो मान्छे मरिसक्यो।' उनलाई पनि लाग्यो, 'ए, म त मरेछु।'
'फिल्ममा देख्ने गरेको दृश्य त साँच्चै पो रहेछ, अब मैले बोलेको कसैले सुन्दैनन् होला।' उनले अझ बढी सोच्न भ्याए। उनले बोल्ने प्रयास गरे तर बोली फुटेन। उनी भन्दै थिए, 'कानले सुनेको छु, आँखाले देखेको छु तर बोल्न सकेको छैन।'

सेतो वस्त्रधारी ती महिलाले फेरि दोहोर्‍याइन्, 'उसलाई अब बचाउन सकिँदैन, मरिसक्यो।' वाक्य सुन्नेबित्तिकै उनी बेहोस भए।

'आज तीन दिन भयो तपाईं यहाँ आएको,' डाक्टर भन्दै थिए, 'तपाईंलाई गोली लागेको थियो।' यताउता हेरे, चिनेको कोही छैन। टाउको छामे, पट्टी नै पट्टी बाँधिएको छ, कम्मरमा पनि पट्टी बेरिएको छ। बल्ल उनले चाल पाए, कम्मरमा ढुंगा होइन गोली लागेको रहेछ। एकछिनपछि उनलाई जानकारी दिइयो - तपार्इं शिक्षण अस्पतालमा हुनुहुन्छ। उनी कसरी अस्पताल पुगे, कसले ल्यायो उनलाई केही पत्तो छैन। पछि एक डक्टरले उनलाई भने, 'तपाईंलाई कसैले बारीको पाटामा फ्याँकेको थियो।'

वैशाख ९, उनले होस सम्हालेको दिन, पुनर्जन्म पाएको दिन। उनी यसरी नै सम्झन्छन् त्यो दिन। त्यही दिन उनलाई अस्पतालले डिस्चार्ज गर्‍यो। आफन्त कोही छैन। खल्तीमा पैसा छैन। कसरी जाने थानकोट? उनी अस्पतालको गेटसम्म पुगेका थिए ट्रकका साहुजी राजेन्द्र महर्जन देखा परे। साहुजीको मुख खुलेको खुल्यै भयो। केही बेरपछि साहुजी बोले, 'तिमी त मर्‍यौ पो भन्ठानेको, अखबारहरूले पनि तिमी मर्‍यौ भनेर लेखेका छन्।'

अधिकारकर्मीसँग सोधपुछ गरेपछि साहुजी अस्पताल पुगेका रहेछन्, उनको लाश बुझ्न। पाए जिउँदो शरीर। अखबारले उनी गोली लागेर लडेको तस्बिर छापेका थिए। पाखुरामा उनले बिच्छीको ट्याटु बनाएका थिए। अखबारमा छापिएको तस्बिरमा उनको ट्याटु प्रस्ट देखिएको थियो। यही ट्याटुबाट उनको पहिचान गरिएको थियो - उनी शिव विडारी नै हुन्।

'सपना हो कि विपना, ठम्याउन गाह्रो भो,' शिव भन्दै थिए, 'सबै आउँछन्, तँ मरेको मान्छे होइनस् (?) भन्छन्। कहिलेकाहीँ त लाग्थ्यो, म त साँच्चै मरिसकेछु कि क्या हो!' उनले अहिले जवाफ दिने गरेका छन्, 'मर्न त मरेकै हो, तर यो मेरो अर्को जन्म हो।'

अस्पतालबाट निस्केको पर्सिपल्ट आन्दोलनकारी विजयी भएको घोषणा गरियो। उनलाई यो सुन्दा निकै आनन्द आयो। तर दुःखी पनि भए - विजय जुलुसमा स्वास्थ्यका कारण सहभागी हुन सकेनन्। जनआन्दोलन घाइतेका नाममा अहिलेसम्म मात्र ९ हजार रुपैयाँ पाएका छन् उनले। उनले भने, 'विजय जुलुसमा सहभागी हुन पाइएलाजस्तो छ, नेताहरूले जिम्मेवारी पूरा गर्लान्जस्तो छैन। फेरि आन्दोलनमा सहभागी हुन पाइएलाजस्तो लाग्न थालेको छ।'

'एउटा आन्दोलनले बेरोगजार भइयो,' उनले भने, 'अरू जागिर त पाइँदैन, अब फेरि आन्दोलनमा जाने जागिर पाइएला कि!'

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete